काठमाडौ । सत्ताबाहिर हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई कति छटपट्टी भको छ भन्ने कुरा अहिले उनले दिने गरेका अभिव्यक्तिबाट प्रष्ट हुन्छ । १८ महिना कांग्रेस र एमालेको बलमा सत्तारोहण गरेका प्रचण्ड अहिले भैसेपाटीमा थन्किन पुगेका छन् ।
उनीमा सत्ता छोड्नुको पिडा यति छ कि जहिल्यै जुन कार्यक्रममा बोल्दा पनि उनले फेरी आफू ठूलो शक्तिको रुपमा आउने बताउन छोडेका छैनन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताएका छन्। यति मात्र नभई उनले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने समेत बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन।”
उनले वर्तमान सत्ता गठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाए। सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो।
पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताए। स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उनले उल्लेख गरे। भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताए। नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उनले भ्रष्टाचारका विरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गरे।
उनले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए।सत्ताको स्वाद चाखेका प्रचण्डलाई अहिले अन्य पार्टीसँग पार्टी एकता गरेर ठूलो पार्टी बनाउने दिवा सपना समेत देखेका छन् । उनले यसकै लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द(विप्लव)लाई फकाइरहेका पनि छन् । तथापी उनीहरुले पार्टी एकताको विषयमा ग्रिन सिग्नल भने दिसकेका छैनन् ।
प्रतिक्रिया