काठमाडौं । एमालेसम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नोभेम्बर २५ देखि शुरु हुने महिला हिंसाविरुद्धको १६ दिने अभियानलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) सम्म सञ्चालन गर्ने भएको छ ।
संघकी अध्यक्ष टुका भद्रा हमालद्वारा जारी विज्ञप्तिमा संविधान, कानून तथा नीतिहरुको पूर्ण कार्यान्वयन गर्दै हिंसाबाट प्रताडित महिलालाई क्षतिपूर्तिसहित उचित न्याय दिलाउन माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दोषिलाई कडा दण्ड दिलाउन तथा सर्वसुलभ, द्रुत र मर्यादित न्याय प्रणाली स्थापित गर्न राज्यका तीनै अंगसँग जोडदार माग गर्दछौं ।’
अभियानलाई व्यापक रुपमा संचालन गर्न संगठनले पहिलो दिन मंसीर १० गते केन्द्रमा खेलकुदमा लैंगिक न्याय विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो । यससँगै सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र दिने, प्रभातफेरी गर्ने र अन्य दिन सचेतनामूलक र रचनात्मक कार्यक्रमहरु गर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीमा आर्थिक वर्ष २०८०–८१ मा आएको उजुरी दर्ताको स्थितिअनुसार जबर्जस्ती करणीका २५ सय ७, जबर्जस्ती करणी उद्योगका ४ सय ६०, बालबालिकामाथि हुने यौन दुर्वव्यहारका ३ सय ६३, यौन दुर्व्यवहारका १९, घरेलु हिंसाका १६ हजार ४ सय १६ बोक्सी आरोपका २३, बालविवाहका ५२, मानव बेचविखनका १ सय ६६, दाइजोसम्बन्धी हिंसाका १० घटना रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त घटनाबाट महिलाहरु त प्रताडित छन् नै, परिवार, समाज र सिंगो मुलुकको विकासको गतिलाई बाधा पुगेको छ ।’ यो महिलाको मात्रै नभई समग्र समाज र राज्यको नै सवाल हो भन्दै विज्ञप्तिमा त्यस्तो स्थितिको निराकरणका लागि पनि महिला एवं सम्बद्ध सबै पक्षले प्रभावकारी तवरले लाग्न आवश्यक रहेको उल्लेख छ।
प्रतिक्रिया