खुकुरी प्रहार गरेको अभियोगमा वडा अध्यक्ष पक्राउ

काठमाडौ । दुई युवालाई खुकुरी हानेको अभियोगमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका(२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’लाई प्रहरीले पक्राउ गरेको छ । एमालेबाट निर्वाचित ज्ञानेन्द्रले बाकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की अनुसार घाइतेलाई उपचारकालागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ ।

सामान्य विवादमा वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

वडा अध्यक्ष वली गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ ।