काठमाडौ । ( परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ मा बेइजिङ प्रस्थान गेर्न भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा मंसिर १३ मा चीनको राजधानी बेइजिङ जाने भएकी हुन् । परराष्ट्र मन्त्री राणाले मंसिर १७ मा प्रधानमन्त्रीलाई बेइजिङमा स्वागत गर्नेछिन् ।
परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी र आफ्नै औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री राणा बेइजिङ जाने तयारी गरेको बताए । पाठकले परराष्ट्रमन्त्री राणाले औपचारिक चीन भ्रमणको तयारी गरिरहे पनि निमन्त्रणा भने आइनसकेको बताए । तर, प्रधानमन्त्री कार्यालय स्रोतले भने परराष्ट्रमन्त्री राणा मंसिर १३ मा बेइजिङ पुग्ने बताएको छ । स्रोतका अनुसार, परराष्ट्रमन्त्री राणा जापानको राजधानी टोकियोहुँदै बेइजिङ जान लागेकी हुन् । टोकियोमा समेत केही औपचारिक कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने विषयका बारेमा सरकारले आन्तरिक छलफल गरिरहेको छ । परराष्ट्रमन्त्रीले प्रधानमन्त्री ओली बेइजिङ पुग्नुअघि समकक्षी वाङ यीलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय बैठकमा उठाउने विषयका बारेमा छलफल गर्ने स्रोतले बताएको छ।
प्रधानमन्त्री ओली मंसिर १७ देखि २० सम्म चीन भ्रमण तय भएको छ । पछिल्लो पटक राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेट भएको थियो । सोही बेला चिनियाँ विदेश मन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने र सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए ।
दशैं अगावै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणबारे राष्ट्रपति सीले पठाएको निमन्त्रणा पत्र दिएका थिए । नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले ओलीसँग भेट गरेका थिए । बधाई दिन प्रधानमन्त्री ओलीलाई भेटेका राजदूत सोङले त्यहीबेला चीन भ्रमणका बारेमा अनौपचारिक छलफल गरेका थिए । चिनियाँ राजदूत सोङले बेइजिङस्थित विदेश मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति तय भएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको चर्चा चले पनि अहिलेसम्म औपचारिक निर्णय भएको छैन। यद्यपि,राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका बेला त्यहीँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग केहीबेर ओलीले भेट गरेका थिए। त्यसअघि प्रधानमन्त्री ओली विमस्टेकको बैठकमा भाग लिन बैंकक जाने तयारी गरेका थिए। तर,आयोजक राष्ट्र थाइल्याण्डले बैठक स्थगित गरेपछि प्रधानमन्त्री ओलीको बैंकक भ्रमण पनि स्थगित भएको थियो।
प्रतिक्रिया