काठमाडौं । विस्थापित सुकुमवासीलाई उचित बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारी निर्णयप्रति नेकपा (एमाले) ले असन्तुष्टि व्यक्त गरेको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
उनका अनुसार पुनर्वासको आश्वासन दिएर घरबारविहीन बनाइएका नागरिकलाई लामो समयसम्म अन्योलमा राख्नु र अहिले अस्थायी आश्रयसमेत हटाउन खोज्नु उचित होइन।
आचार्यले यस्तो कदमले नागरिकको आवाससम्बन्धी अधिकार र सामाजिक न्यायको अवधारणामाथि प्रश्न उठाएको बताएका छन्।
अव्यवस्थित बसोबासीको समस्या हटाउने नाममा विस्थापन गर्नुको सट्टा मानवीय र दीर्घकालीन समाधान खोज्नुपर्ने एमालेको भनाइ छ।
एमालेले सरकारलाई निर्णय तत्काल सच्याउन र विस्थापित परिवारका लागि सुरक्षित तथा वैकल्पिक आवासको व्यवस्था गर्न माग गरेको छ।










प्रतिक्रिया