काठमाडाै । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मध्यराती २२ युवतीलाई फर्काईएकाे छ ।
रोजगारीका लागि कुवेत उड्न लागेका २२ जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हाे । भिजिट भिसामा कुवेत उडाइन लागेका २२ जना युवतीहरु मनव तस्करीको आशंकामा विमानस्थल अध्यागमनले फर्काइदिएको हो ।
उनीहरु हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए । दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । फर्काइउका युवतीहरुको टिकट पनि एकतर्फी मात्रै रहेछको पाइएको जानकारी दिंदै भट्टराईले भने, ‘बदमासी प्रष्ट देखिएपछि फिर्ता गरेका हौं ।’
उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियोे । घटनामा कसैलाई पक्राउ गरिएको छैन । एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको तर, पछि छोडिएको उनले जानकारी दिएका छन् । नेपाली युवती भिजिट भिसामा विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको थियो ।
विमानस्थल अध्यागमनका पूर्वप्रमुख गोविन्दप्रसाद रिजालको संयोजकत्वमा कार्यदल समेत बनाइएको थियो । तर, एक महिनाअघि उनी त्यहाँबाट सरुवा भई अध्यागमन विभागको महानिर्देशक भएपछि भिजिट भिसालाई नियमन गर्ने काम रोकिएको छ । भिजिट भिसाको विकृति नियन्त्रण जरुरी भएको वर्तमान प्रमुख भट्टराई पनि स्वीकार गर्छन् ।
प्रतिक्रिया