जुवाघरबाट कांग्रेस नेता पक्राउ

दाङ । नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले डाँगीसहित अन्य केही व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष ताराबहादुर डाँगी र घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसी पनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–१५ स्थित डाँगीको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भुपबहादुर डाँगी नेपाली कांग्रेसको जिल्ला सभापति बन्ने दौडमा रहेका नेता हुन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

त्यस्तै, २०७९ सालको निर्वाचनमा कांग्रेसका तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिए पनि दुवै निर्वाचनमा पराजित भएका थिए ।