मधेस प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकमा सम्बाेधन गर्दै मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्।

आज बसेको बैठकमा विश्वासको मत लिने तय भएको थियो। तर, आवश्यक बहुमत नपुग्ने भएपछि प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिए।

१ सय ७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। तर, हाल कायम १ सय ३ सांसदमध्ये मुख्यमन्त्री यादवको दल नेपाली कांग्रेसका २२ सांसद मात्रै थिए।

एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार ढलेको हो।

यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। मधेश प्रदेश सभामा २८ सिटसहित जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दल छ । जसपाको नेतृत्वमा नयाँ सरकार गठनको तयारी छ।

मधेशमा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।