हात भाँचिएकी बालिकाकाे उपचारकाे क्रममा मृत्यु भएपछि डाक्टर समातिए

काठमाडाै । हात भाँचिएकी बालिकाकाे मृत्यु भएपछि डाक्टरलाई नै प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको हाे । नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव रहेका छन् ।

घरमा खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी नौं वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएपछि उनीहरुलाई नियन्त्रणमा लिएकाे हो ।

सामान्य उपचारपछि बुधबार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले असर (रियाक्सन) गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बालिकाका आफन्तले डाक्टर (चिकित्सक) को लापरबाहीका कारण मृत्यु भएको भनेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकहरू नियन्त्रणमा लिएको हो ।