काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह मंसिरकाे दाेस्राे साता भारत भ्रमणमा जाने भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले हिजाे सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने जानकारी दिएका हुन्। यद्यपि, भ्रमणको मितिबारे भने औपचारिक टुङ्गो लाग्न बाँकी रहेको उनले बताए।
प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने चर्चा चलिरहेका बेला परराष्ट्रमन्त्री खनालले पनि सोही अवधिमा भ्रमण हुन सक्ने सङ्केत गरेका हुन् ।
‘तर, आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ,’ मन्त्री खनालले भने।
वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै उनले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।
‘भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमालगायतका विषयमा केही न केही सकारात्मक प्रगति होस् भन्ने हाम्रो चाहना छ,’ मन्त्री खनालले भने।
भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यासका साथै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।
गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ।










प्रतिक्रिया