प्रेमचन्द्र झा
रौतहट ।तराई–मधेशको गरिबी, अशिक्षा र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै जनताका आवाज सरकारसम्म पुर्याउने उद्देश्यले आगामी कात्तिक ३० गतेदेखि सुरु हुन लागेको ऐतिहासिक ‘मेची–महाकाली पदयात्रा’ को तयारी तीव्र पारिएको छ। पदयात्राको तयारी, सङ्गठनात्मक सुदृढीकरण, व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आयोजित कार्यक्रमहरू सम्पन्न भएका छन्।
प्रतिनिधिसभा सदस्य तथा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का सांसद डा. अमरेश कुमार सिंहको अगुवाइमा अघि बढाइएको अभियानअन्तर्गत चितवनको भरतपुर र नवलपरासी पूर्वको कावासोतीस्थित जिल्ला पार्टी कार्यालयमा छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय नेताकार्यकर्ता, सङ्गठनका प्रतिनिधि तथा शुभचिन्तकहरूको सहभागिता रहेको जनाइएको छ।
‘५ घण्टा हिँड्ने, ७ घण्टा सुन्ने’ मूल सङ्कल्पका साथ सञ्चालन हुन लागेको पदयात्राले तराई–मधेशका नागरिकका वास्तविक समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष रूपमा बुझ्ने लक्ष्य राखेको छ। अभियानमार्फत सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्ने, जनताका आवाजलाई सरकारसम्म पुर्याउने तथा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइजस्ता आधारभूत क्षेत्रमा परिवर्तनका लागि जनदबाब सिर्जना गर्ने उद्देश्य राखिएको छ।
अभियानका आयोजकका अनुसार पदयात्रा केवल राजनीतिक गतिविधिमा सीमित नभई तराई–मधेशको सामाजिक तथा आर्थिक अवस्था बुझ्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र जनताका समस्यालाई राष्ट्रिय बहसको विषय बनाउने माध्यमका रूपमा अघि बढाइनेछ। विशेषगरी गरिबी, अशिक्षा, भ्रष्टाचार, कमजोर पूर्वाधार र आधारभूत सेवासम्बन्धी समस्यालाई प्राथमिकतामा राखिने अभियानको अवधारणाले देखाउँछ।
चितवनको भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रमलाई सफल बनाउन जिल्ला सभापति इन्जिनियर मिनी माधव खनाल, जिल्ला उपसभापति निर्मला गिरी, जिल्ला सचिव तेजेन्द्र प्रसाद पौडेल, सहसचिव कुशल पाठक, कोषाध्यक्ष सुषमा भट्टराई तथा भरतपुर, कालिका, राप्ती र रत्ननगर नगर सभापतिहरू क्रमशः सीता ज्ञवाली, हिरामणि पोखरेल, प्रदीप श्रेष्ठ र रामनाथ भट्टराईले सहयोग पुर्याएको डा. सिंहले बताएका छन्।
त्यसैगरी, नवलपरासी पूर्वको कावासोतीस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा जिल्ला सभापति दोमन बहादुर भण्डारी, उपसभापति जगबहादुर राणा, सचिव विष्णु कँडेल, सहसचिव देव परियार, कोषाध्यक्ष भागिरथा घर्ती तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ का क्षेत्रीय संयोजकद्वय मेघराज पराजुली र खेम पुरीलगायतले सक्रिय सहभागिता र सहयोग गरेको उनले उल्लेख गरेका छन्।
दुवै जिल्लामा भएका छलफलले पदयात्राको व्यवस्थापन, सङ्गठनात्मक समन्वय र अभियानको उद्देश्यबारे स्थानीय तहमा जानकारी विस्तार गर्न सहयोग पुगेको डा. सिंहको भनाइ छ। कार्यक्रमहरूमा सहभागी नेता तथा कार्यकर्ताबाट प्राप्त सुझाव, सहयोग र ऐक्यबद्धताले आगामी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ऊर्जा प्रदान गरेको उनले बताएका छन्।
डा. सिंहले कार्यक्रम सफल बनाउन समय, आतिथ्यता, रचनात्मक सुझाव र सहयोग प्रदान गर्ने दुवै जिल्लाका नेता, कार्यकर्ता, शुभचिन्तक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्। आगामी दिनमा पनि मधेशको रूपान्तरण र राष्ट्रिय समृद्धिको लक्ष्यसहित अघि बढ्ने अभियानमा निरन्तर साथ र सहकार्य प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन्।
आगामी कात्तिक ३० गतेदेखि हुलाकी राजमार्ग भएर सुरु गर्ने तयारी गरिएको मेची–महाकाली पदयात्राले तराई–मधेशका विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षालाई सार्वजनिक बहसमा ल्याउने लक्ष्य राखेको छ। अभियानको प्रभावकारिता भने यसले उठाउने जनसरोकारका मुद्दा, नागरिकको सहभागिता र ती मुद्दालाई सम्बन्धित निकायसम्म पुर्याउन गरिने पहलमा निर्भर रहनेछ।










प्रतिक्रिया