बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके । बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको छ । जिल्लामा रहेका तालतलैया, नदी आसपास क्षेत्रमा रहेका जङ्गली धान यस वर्ष करिब ४० प्रतिशतसम्म मात्रै रहेका धानको स्थलगत अनुगमन गरेका धान प्रजननविज्ञ डा मुकुन्द भट्टराईले जानकारी दिए ।

उनले बाँकेलाई स्थानीय बाली र जङ्गली धानको अध्ययन केन्द्रका रूपमा विकास गर्न खोजिएको उल्लेख गर्दै यो धानको अवस्था कसरी घटेको भन्ने विषयमा अध्ययन गरिने बताए । भट्टराइले भने, “जङ्गली धान मात्रै होइन, रैथाने बालीलाई पनि जोगाउन स्थानीय सरकारको समन्वयमा काम गर्ने प्रयास भइरहेको छ ।” यसको अध्ययनरअनुसन्धान गर्न करिब १० वर्ष लाग्ने उनको भनाइ छ । 

बैजनाथ गाउँपालिका–४ स्थित सुतैया ताल, डुडुवाका केही क्षेत्र, मानखोला आसपासका क्षेत्र र कोहलपुरका केही भागमा जङ्गली धान पाइने जनाउँदै धान प्रजननविज्ञ डा भट्टराइले त्यसको संरक्षण गरिए पनि उत्पादनमा कमी हुँदा अवस्था सङ्कटमा पर्नसक्ने जोखिम बढेको बताए । 

वैशाखदेखि आफैँ विभिन्न तालतलैया र नदी आसपासका क्षेत्रमा हुर्किने बताउँदै असोजमा एक एक दाना सङ्कलन गरी धानको मूल बीउ जोगाउने प्रयास गरिएको अगुवा कृषक तथा जिन बैंक गाभर भ्यालीका प्रमुख पुरमल बस्नेतले जानकारी दिए । उनले जलवायु परिवर्तनको असर स्थानीय बाली र जङ्गली धानमा परेको उल्लेख गर्दै यस वर्ष विगतमा जस्तो उत्पादन नहुने भएकाले चिन्ता थपिएको बताए । 

“यो धान जति पनि विकास भएका धानका प्रजाती छन् त्यसको मूल बीउ हो । यसलाई जोगाउने दायित्व हामी सबैको हो”, उनले भने । बस्नेतले यस वर्ष धेरै वर्षा भएकाले पनि जङ्गली धानको बीउ उत्पादनमा असर परेको जानकारी दिँदै यसमा स्थानीय तहको जागरुकता नभएको बताए । उनका अनुसार यस धानको विस्तृत अध्ययन तथा अनुसन्धानका लागि श्रीलङ्काबाट विज्ञ टोली अबको केही दिनमा नै बाँके आउन थालेको छ । 

किसान बस्नेतले ‘धानको वंश’ बचाउन पनि जङ्गली धानको संरक्षणमा जोड दिँदै राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुवांशिक स्रोत केन्द्र, खुमलटारले बाँके सहितका जिल्लामा जङ्गली धानको संरक्षण र प्रयोगबारे अध्ययन गरिरहेको बताए । खास गरी बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, स्याङ्जालगायतका जिल्लामा सो धान पाउने गरिन्छ । 

बाँकेमा अघिल्लो वर्ष करिब चार बिघा क्षेत्रफलमा देखिएको सो धान अहिले सात कट्ठा जमिन क्षेत्रफलमा मात्रै रहेको छ । बाँकेमा धेरै मात्रामा निवारा रुफिपोगन गरी दुई प्रजातिको जङ्गली धान फेला परेको छ । धेरै क्षेत्रफलमा देखिएको जङ्गली धानको बीउ डिएनए परीक्षण गर्नका लागि केही वर्षअघि कैलालीबाट १० वटा र बाँकेबाट १२ वटा नमूना सङ्कलन भएको थियो ।