यस्ताे छ वरिष्ठ नेता विद्या भणडारीकाे एमालेमा भूमिका

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको भूमिका र जिम्मेवारी औपचारिक रूपमा स्पष्ट पारेको छ।

पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार भण्डारी अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहनेछिन्। यसअघि केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेता चयन गरेको थियो।

एमालेको अपानिअनुसार भण्डारीले केन्द्रीय कमिटीसँगै पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउनेछिन्। उनले अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही र समयोचित निर्णय लिन योगदान पुर्‍याउने जिम्मेवारी पाएकी छन्।

वरिष्ठ नेताका रूपमा भण्डारीले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्य गर्ने अपानिमा उल्लेख छ।

एमालेको विद्यमान विधानमा वरिष्ठ नेताको व्यवस्था नरहे पनि भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरिएको हो। उक्त व्यवस्था आगामी विधान महाधिवेशनबाट अनुमोदनका लागि प्रस्तुत गरिने एमालेले जनाएको छ।

अपानिमा भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय पार्टी विधानको बाधा–अड्काउ फुकाउने व्यवस्थालगायतका प्रावधानका आधारमा गरिएको उल्लेख छ।

दुई कार्यकाल राष्ट्रपति हुनुअघि भण्डारी एमालेकी उपाध्यक्ष थिइन्। राष्ट्रपति पदबाट अवकाशपछि उनी पुनः पार्टी राजनीतिमा सक्रिय भएकी हुन्।