कांग्रेस महाधिवेशन: उम्मेदवारी मनाेनयन फारम १० बजेदेखि वितरण, चार बजेसम्म मनाेनयन दर्ता गर्न पाइने

काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तालिका सार्वजनिक भएको छ । मनाेनयन तालिका अनुसार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु हुने र मनोनयन दर्ता भने दिउँसो ४ बजेसम्म गर्न पाइने समय तोकिएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आज बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन फारम वितरण हुनेछ । यसअघि बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमा दाबीविरोधको समय तोकिएको छ ।

लगत्तै बिहान १०ः३० बजेसम्म उजुरीमा जाँचबुझ गरिने भएको छ । ११ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

मनोनयन दर्ताको फारम १० बजेदेखि नै वितरण सुरु हुने भए पनि उम्मेदवारी मनोनयन दर्ता भने १२ः३० देखि ४ बजेसम्म तोकिएको छ ।

संशोधित विधानमा केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय हुने भएको छ ।

विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहनेछन् ।

कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुनेछन् । केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना रहनेछन् । काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ ।

दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेशीतर्फ पाँच महिलासहित १३ जना रहनेछन् । जनसम्पर्क समितिबाट दुई महिलासहित सात तथा पिछडिएको वर्गबाट तीन जना रहनेछन् ।

त्यस्तै, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन र पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना रहनेछन् । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन् ।

यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरिएको छ ।