नेपाल-ग्रीस मैत्री संघको टोली ग्रीस भ्रमण सम्पन्न गरी स्वदेश फर्कियो

काठमाडौं। नेपाल-ग्रीस मैत्री संघ (NGFCA) को २५ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष मनोज नेवा खड्गीको नेतृत्वमा गएको १० सदस्यीय टोली ग्रीस भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ।

भ्रमण टोलीमा संघका कोषाध्यक्ष सुबर्ण राजभण्डारी, काठमाडौं महानगरपालिका वडा नं. १७ का अध्यक्ष तथा प्रवक्ता नवीन मानन्धर, वडा नं. १९ का अध्यक्ष तथा पूर्वाधार समिति संयोजक राजेश कुमार श्रेष्ठ, बागमती युनिभर्सिटीका डिन डा. शिवराज अधिकारी, वर्ल्ड साइकल क्याम्पेनका अध्यक्ष कवि महर्जन लगायत १० जना सहभागी थिए।

टोलीले ग्रीसमा रहँदा विश्व प्रसिद्ध बेनाकी म्युजियमका प्रमुखसँग भेट गरी ट्राभलिङ प्रदर्शनी काठमाडौंमा ल्याउने विषयमा सहकार्य गरेको छ। त्यस्तै एथेन्सको ऐतिहासिक एक्रोपोलिसमा मैत्री साइकल र्‍याली, अत्याधुनिक वेस्ट म्यानेजमेन्ट सेन्टरको अवलोकन र ग्रीसमा बसोबास गर्ने नेपाली समुदायसँग विशेष भेटघाट तथा अन्तरक्रिया गरेको थियो।

भ्रमण सम्पन्न गरेर फर्कने क्रममा टोली नयाँ दिल्लीस्थित ग्रीसको दूतावास पुगेर नियोग उपप्रमुख (DCM) Emmanouel Koubarakis सँग भ्रमणको उपलब्धिबारे गम्भीर छलफल गरेको थियो।

संघका महासचिव अन्जीता खड्गीका अनुसार संघले वार्षिक रुपमा ग्रीक स्वतन्त्रता दिवसमा साइकल र्‍याली, हालसम्म दुई पटक ग्रीक फुड फेस्टिबल र दुई पटक ग्रीक कविता उत्सव गर्दै आएको छ। कविता उत्सवमा राजदूतावासबाट प्राप्त ग्रीक कवितालाई ग्रीक, अंग्रेजी, नेपाली, नेपालभाषा, मैथिली तथा लिम्बु भाषामा उल्था गरेर बाचन गर्ने गरिन्छ।

भ्रमण सफल बनाउन नेपालका लागि ग्रीसका महामहिम राजदूत Aliki Koutsomitopoulo र DCM Emmanouel Koubarakis तथा ग्रीस-नेपाल मैत्री संघका अध्यक्ष कृष्ण पोखरेलको विशेष सहयोग रहेको महासचिव खड्गीले बताउनुभयो।