काठमाडौं । बडादशैँ, तिहार तथा छठ पर्व नजिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजनालाई अघि सारेको छ ।
चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।
विशेष सुरक्षा योजना असोज १६-कात्तिक ३० गतेसम्म लागू रहनेछ । आवश्यकताअनुसार थप १९० जनाको रिजर्भ टोलीसमेत झिकाइने प्रहरीले जनाएको छ ।
ड्रोन र कुकुरसहित निगरानी
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रविधिको उच्च प्रयोग गरिने आज आयोजित प्रेस मिटमा बताइएको छ । काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिनेछ ।
यसैगरी, काठमाडौंका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूमा तालिमप्राप्त कुकुर (K-9 Dog Unit) सहितको टोलीले नियमित ‘डग स्निफिङ’ गर्नेछ ।
सामाजिक सञ्जालमार्फत हुने ठगी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न परिसरमा छुट्टै डेस्क सक्रिय रहनेछ भने अत्यावश्यक जानकारी प्रवाहका लागि १० स्थानमा ‘पब्लिक अनाउन्समेन्ट सिस्टम’ सञ्चालन गरिनेछ ।
घटना भएको सूचना पाउनासाथ प्रहरी ५ देखि १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा व्यवस्थापन मिलाइएको थापाले बताए । प्रहरीले पीपीईआई (PPEI – Promotional, Preventive, Enforcement, Innovation) मोडलमा आधारित रहेर रणनीति तय गरेको छ ।
जसअन्तर्गत मोबाइल गस्ती, पैदल गस्ती, क्युआरटी (QRT), सिआरभी (CRV), सादा पोशाकमा प्रहरी परिचालन, सीमा नाकामा कडा चेकजाँच र ट्राफिकसहितको संयुक्त चेकिङ गरिनेछ। मन्दिर, खसी बजार, सपिङ मल, वित्तीय संस्था तथा एटिएम बुथहरूमा विशेष सुरक्षा ड्युटी रहनेछ।
चाडपर्वमा यात्रुहरूको सहज आवतजावतका लागि काठमाडौंका प्रमुख १४ स्थानमा यात्रु सहायता तथा हेल्प डेस्क स्थापना गरिने भएको छ । कलंकी, कोटेश्वर, गौशाला, गोँगबु बसपार्क, बिजी मल अगाडि, बल्खु, सुरुङ मार्ग, नागढुङ्गा, बालाजु बाइपास, बालाजु चोक, सीतापाइला, जोरपाटी र चाबहिल चोकमा हेल्प डेस्क रहनेछन् । यसका अतिरिक्त २५ वटा सामुदायिक सेवा केन्द्रबाट समेत नागरिकलाई सहायता प्रदान गरिनेछ ।
नागरिकलाई प्रहरीले निम्न आग्रह गरेको छ-
चाडपर्वको अवसरमा घर छाडेर गाउँ जाने नागरिकलाई विशेष सावधानी अपनाउन ।
बहुमूल्य गरगहना, नगद र महत्त्वपूर्ण कागजात घरमा नराखी बैंकको लकरमा सुरक्षित राख्न ।
घर/कोठाका ढोका–झ्याल सुरक्षित रूपमा बन्द गरी विश्वसनीय छिमेकी वा प्रहरीलाई जानकारी गराउन ।
जुवा, तास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने र पटका तथा आतसबाजीजस्ता प्रज्वलनशील वस्तुको प्रयोग नगर्न ।
मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र अपरिचित व्यक्तिको भर नपर्न ।
सामाजिक सञ्जालमा आउने ‘लक्की अफर’, ‘उपहार जितियो’ वा ‘छिटो कमाइ’ जस्ता प्रलोभन देखाउने ठगीबाट जोगिन ।
कुनै पनि शंकास्पद गतिविधि देखिएमा वा समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न अनुराेध गरेकाे छ ।








प्रतिक्रिया