छ प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ।

पछिल्लो ६ घण्टामा तनहुँको श्यामघा मौसम मापन केन्द्रमा ६५.६ मिलिमिटर र लमजुङको फालेनी मौसम मापन केन्द्रमा ५०.४ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।