अमेरिकाकाे मिनेसाेटामा गाेली चल्याे

मिनेसोटा  । अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिसको डाउनटाउन क्षेत्रमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन प्रहरी अधिकारीसहित कैयौँ व्यक्ति घाइते भएका छन् भने गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

घटनापछि घाइतेमध्ये सात जनालाई स्थानीय अस्पताल पुर्‍याइएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार तीमध्ये तीन जनाको गोली लागेका कारण शल्यक्रिया भइरहेको छ। स्थानीय समयअनुसार साँझ करिब ५ः४५ बजे गोलीकाण्ड भएको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। घटनास्थललाई दर्जनौँ प्रहरी गाडीले घेराउ गरेका थिए। साँझ ६ः३० बजेसम्म पनि प्रहरी, स्वाट टोली तथा आकस्मिक स्वास्थ्य सेवाका कर्मचारी घटनास्थलमै खटिएका थिए।

घटनास्थल आसपास अपार्टमेन्ट, होटल, अस्पताल तथा मिनियापोलिस कन्भेन्सन सेन्टर रहेका छन्। सुरक्षाका कारण युनिभर्सिटी अफ सेन्ट थोमसको मिनियापोलिस क्याम्पसले विद्यार्थी र कर्मचारीलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएको थियो। मिनेसोटाका गभर्नर टिम वाल्जले सार्वजनिक सुरक्षा निकायहरू घटनाप्रति तत्काल प्रतिक्रिया दिइरहेको बताएका छन्। उनले घटनामा खटिएका सुरक्षाकर्मीको सुरक्षाका लागि प्रार्थना गर्न आग्रह गरेका छन्।

मिनियापोलिसका मेयर ज्याकोब फ्रेले छिमेकी प्रहरी निकाय र मिनेसोटा स्टेट पेट्रोलले स्थानीय प्रहरीसँग समन्वय गरिरहेको बताएका छन्। घटनाको अनुसन्धानका लागि एफबीआई र एटीएफका अधिकारीसमेत परिचालन भएका छन्। गोलीकाण्डको कारण र घटनाको विस्तृत पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।