संसद बैठमा एक हप्तासम्म भोटेकोशी बाढीको विषयमा छलफल हुने

काठमाडौं । भोलीदेखि बस्ने प्रतिनिधिसभा बैठकमा भोटेकोशीमा आएको बाढीको विषयमा छलफल हुने भएको छ । संघीय संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनका अनुसार सुरुमा असोज २२ गतेका लागि बैठक आह्वान गर्ने तयारी भए पनि दलहरूको सुझावका आधारमा भोलिदेखि नै सदन सुचारु गर्न सभामुख सहमत भएका हुन्।

भोलिको बैठकमा हालैको प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय गरिएको छ। राहत र उद्धारको समयमा संसद्मा राजनीतिक खिचातानी हुन सक्ने जनआशङ्काका सम्बन्धमा स्पष्ट पार्दै उनले राहत कार्य र संसदीय प्रक्रियालाई सँगसँगै लैजानुपर्ने बताए।
बाढीपहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा उपत्यकामा दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको अभाव हुन सक्ने विषयमा सरकारले ध्यान दिनुपर्ने उनले उल्लेख गरे। परियारले भने, ‘मुलुकमा ठुलो जनधनको क्षति भएको छ। यस्तो अवस्थामा संसद्मा जनसरोकारका विषयहरू ल्याउनु र ठोस निष्कर्ष निकाल्नु आवश्यक छ। जनताको विश्वास सदनमाथि छ। आधिकारिक सूचना प्रवाह गर्न र भ्रमहरू चिर्न पनि संसद् खुल्नुपर्छ। दुई(तीन दिन सरकारलाई उद्धार र खोजतलास कार्यमा बाधा नपुर्‍याऔँ, तर सँगसँगै आपूर्ति व्यवस्था सहज बनाउने विकल्पहरू पनि खोजिनुपर्छ।’

उनले सङ्कटको मौका छोपेर बजारमा कालोबजारी र कृत्रिम मूल्यवृद्धि नगर्न व्यवसायीहरूलाई आग्रह गरे। यस्तो मानवीय सङ्कटको समयमा नाफाखोरीतर्फ लाग्नु मानवताको विरुद्ध हुने उनको भनाइ छ। सरकारले राहत र उद्धारमा गरिरहेको प्रयासमा रास्वपाको पूर्ण साथ रहने स्पष्ट पारे।