राप्रपाले बागमती प्रदेश सरकारमा सहभागी तीनमन्त्रीलाई कारबाही गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र निर्देशन विपरीत बागमती प्रदेश सरकारमा सहभागी आफ्ना तीन प्रदेश सभा सदस्यहरूलाई कारबाहीकाे डण्डा चलाउने भएको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङदेनले कारबाहीको तयारी गरेका हुन् । राप्रपाले बाग्मती संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ ।

उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै संसद्बाट पदमुक्त गर्न सिफारिस गरिएको हो । यस्तै अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई अस्ति १२ घन्टे स्पष्टीकरण सोधेको थियो । तर उनीहरू तीन जनाले स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

आज फेरि स्पष्टीकरणका लागि थप १२ घण्टा समय दिइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । सो सम्बन्धी सूचना टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायतका विभिन्न माध्यमबाट निजहरूलाई प्रेषित गरिएको उनको भनाइ छ ।

पार्टी उच्च स्रोतका अनुसार राप्रपाले भोलि तीन मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्न बाग्मती प्रदेशका सभामुख र निर्वाचन आयोगमा पत्र पठाउने छ । उनीहरू तीन जनालाई सांसदबाट हटाउन सभामुखलाई पत्र पठाउन लागिएको स्रोतको भनाइ छ ।