तीन वर्षीया बालिका बलात्कारपछि हत्याको बिरोधमा सडक अवरुद्ध

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका बलात्कारपछि हत्याको बिरोधमा स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । साउन ३१ गतेदेखि बेपत्ता भएकी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बिहानदेखि सडक अबरुद्ध गरेर सुरु गरिएको प्रदर्शन आजपनि जारी राखेका हुन् ।

पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी छ।

सडक अवरुद्ध भएपछि वीरगन्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

प्रहरीका अनुसार बेपत्ता गरिमाको सोही दिन हत्या भएको खुलेको छ। घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये आरोपितले बालिकाको बलात्कारपछि हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।