बागमतीको मुख्यमन्त्रीलाई आफ्ना सांसदले दिएको समर्थनलाई मान्यता नदिन प्रदेशप्रमुखलाई राप्रपाको पत्र

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका तर्फबाट किरण थापा मगरले राप्रपाको सांसदको समर्थनमा दाबी पेस गरेका छन् । तर राप्रपाले भने आफ्ना सांसदले दिएको समर्थनलाई मान्यता नदिन प्रदेशप्रमुखलाई पत्र पठाएको छ । महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै उक्त पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गरेको हो ।


राप्रपाले गत साउन २० गते बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सामेल नहुने निर्णय गरेको थियो। प्रदेश सरकारको सम्बन्धमा निर्णय गर्नुपरेमा अध्यक्षलाई जिम्मेवारी सुम्पिएको थियो । साथै भदौ १ गते संसदीय दलको नेतालाई अर्को निर्देशन प्राप्त नभएसम्म मतदान र समर्थन प्रक्रियामा तटस्थ बस्न निर्देशन दिइएको थियो।

जसअनुसार पार्टीको कुनै निर्णय र निर्देशन बिना बुझाइएको पत्रमा सहमति नरहेकाले त्यसलाई मान्यता नदिन राप्रपाले प्रदेश प्रमुखसमक्ष अनुरोध गरेको हो। राप्रपाले ‘प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने’ र ‘अध्यक्षको उपयुक्त निर्णय वा पार्टीको अर्को निर्देशन नभएसम्म तटस्थ बस्ने’ अडान दोहोर्‍याएको छ।

यता, केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गरेको बताएका छन् । थापाले बागमती सरकारका विषयमा केन्द्रसँग समन्वय भइरहेको बताएका थिए । प्रदेशको विषम परिस्थितिलाई निकास दिनु आफूहरूको जिम्मेवारी भएको बताउँदै नेता थापाले राप्रपा सत्ताका लागि मरिहत्ते गर्ने पार्टी नभएको दाबी गरे ।