काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच आज भेटवार्ता हुँदैछ।
दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताको तयारी भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका सेनाध्यक्ष सेठ भेटवार्तापछि बुधबार स्वदेश फर्किने कार्यक्रम छ।
यसअघि सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् १९५० देखि एक(अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने ऐतिहासिक परम्परा रहँदै आएको छ।
सोमबार नै सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक सम्मान गारत निरीक्षण गर्नुका साथै उनले परिसरमा वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।









प्रतिक्रिया