चितवन । गत आर्थिक वर्षमा बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरिया)को समस्या देखिएको छ । तीन हजार ४ सय १५ जनाको परीक्षणका क्रममा औलो सङ्क्रमित भेटिएका हुन् ।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा आठ हजार ४ सय ५ जनाको नमूना परिक्षण गर्दा ११ जनामा औलो रोग देखिएको थियो । यस्तै आर्थिक वर्ष २०८०–८१ मा आठ हजार ८ सय ६० जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए ।
नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवी पाइने गर्दछ । प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन् । नेपालमा तीमध्ये भाइभेक्स जातको परजीवी वढी देखिने गर्दछ । फाल्सिपारम जातको परजीवि औलो रोगका सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा प्रभाव पार्ने उनले बताए ।
भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उनले बताए । औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए ।










प्रतिक्रिया