हाँडी बिरयानी बन्यो अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटरको उत्कृष्ट २० उद्यमी

काठमाडौ । नेपालको आतिथ्य तथा खाद्य सेवा (होटल एण्ड हस्पिटालिटी) क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई व्यावसायिक ब्रान्डका रूपमा विकास गर्दै आएको हाँडी बिरयानीका सह–संस्थापक तथा जनसम्पर्क प्रमुख पोषण नेपाल अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित प्रतिष्ठित ‘अमेरिकी दूतावास उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमध्ये पर्न सफल भएका छन्। उक्त कम्पनीका साझेदार पोषण र पूजन नेपाल दाजुभाइ हुन् । उनीहरुले अष्ट्रेलियाबाट फर्किएर सो व्यवसाय सञ्चालन गरेका हुन् ।


इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) का निर्देशक रोशन घिमिरेले जनाएअनुसार काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा नेपालले हाँडी बिरयानीको ब्रान्ड विकास, सेवा प्रणाली, डिजिटल बजार रणनीति, कृत्रिम बुद्धिमत्तामा आधारित ग्राहक पहुँच तथा फ्रेन्चाइज मोडलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए।
देशभरबाट कार्यक्रमका लागि ८०० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये सातै प्रदेश समेट्ने गरी नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय कार्यक्रमका लागि २०० भन्दा बढी उद्यमी छनोट गरी प्रशिक्षण प्रदान गरिएको थियो।


त्यसपछि व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, उद्यमीको प्रतिबद्धता तथा बजार सम्भावनालगायत आधारमा गरिएको अत्यन्त प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट केवल २० उद्यमी काठमाडौंमा आयोजित क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका हुन्।

हाँडी बिरयानीको प्रगति कथा
हाँडी बिरयानी नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्र (होटल एण्ड हस्पिटालिटी) मा मुगल तथा उत्तर भारतीय परिकारमा विशेषज्ञता हासिल गरेको रेस्टुरेन्ट ब्रान्ड हो।
रेस्टुरेन्टले मानकीकृत खाना पकाउने प्रक्रियामार्फत प्रत्येक ग्राहकलाई स्वाद र सेवामा एकरूप अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ। ग्राहक अनुभव, डाइन–इन सेवा तथा ब्रान्ड पहिचानमा केन्द्रित रणनीतिले प्रतिस्पर्धी भोजन बजारमा हाँडी बिरयानीलाई फरक स्थान बनाउन सहयोग गरेको छ।
कम्पनीको लक्ष्य परम्परागत स्वादलाई केवल रेस्टुरेन्ट अनुभवमा सीमित नराखी व्यवस्थित, विस्तारयोग्य र फ्रेन्चाइज गर्न सकिने खाद्य ब्रान्डका रूपमा विकास गर्नु हो।
डिजिटल बजारदेखि एआईसम्म—ग्राहक पहुँच विस्तारको नयाँ रणनीति
हाँडी बिरयानीले आफ्नो बजार विस्तारमा डिजिटल माध्यमलाई प्राथमिकता दिँदै आएको छ।
कम्पनीले डिजिटल–प्रथम बजार रणनीति, कृत्रिम बुद्धिमत्तामा आधारित ग्राहक लक्षित अभियान तथा तथ्यांकमा आधारित प्रवर्द्धनमार्फत ग्राहकको रुचि बुझ्ने, नयाँ ग्राहकसम्म पुग्ने र ब्रान्डसँगको सम्बन्ध थप मजबुत बनाउने काम गरिरहेको छ।
बदलिँदो ग्राहक व्यवहार र डिजिटल भोजन बजारलाई ध्यानमा राख्दै कम्पनीले प्रविधि र खाद्य सेवाबीचको सम्बन्धलाई आफ्नो विस्तार रणनीतिको महत्वपूर्ण आधार बनाएको छ।


फ्रेन्चाइज मोडल विस्तारको लक्ष्य
हाँडी बिरयानीको अबको प्रमुख लक्ष्य फ्रेन्चाइज मोडलमार्फत नयाँ बजारमा प्रवेश गर्नु हो।
मानकीकृत खाना पकाउने प्रक्रिया, ब्रान्ड पहिचान र ग्राहक अनुभवमा एकरूपता कायम गर्दै विभिन्न सहरमा नयाँ शाखा तथा फ्रेन्चाइज सञ्चालन गर्न सकिने संरचना विकासमा कम्पनीले काम गरिरहेको छ।
दीर्घकालीन रूपमा हाँडी बिरयानीलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली उद्यमीले विकास गरेको प्रतिस्पर्धी आतिथ्य तथा खाद्य सेवा ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
नेपाल र अष्ट्रेलियाको अनुभवलाई ब्रान्ड विकासमा जोड्दै पोषण नेपाल
पोषण नेपाल हाँडी बिरयानीका सह–संस्थापक तथा जनसम्पर्क प्रमुख हुन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय अध्ययनमा स्नातकोत्तर तथा अष्ट्रेलियाबाट व्यावसायिक लेखांकनमा स्नातकोत्तर गरेका छन्।
नेपाल र अष्ट्रेलियामा हासिल गरेको व्यवसाय, वित्तीय व्यवस्थापन तथा व्यावसायिक अनुभवलाई उनले हाँडी बिरयानीको ब्रान्ड विकास, जनसम्पर्क, वित्तीय सोच र बजार विस्तारमा उपयोग गर्दै आएका छन्।
दुई फरक बजार तथा व्यवसायिक संस्कृतिमा हासिल गरेको अनुभवले ग्राहक अपेक्षा, सेवा प्रणाली, वित्तीय अनुशासन तथा व्यवसाय विस्तारलाई फराकिलो दृष्टिकोणबाट हेर्न सहयोग गरेको छ।
हाँडी बिरयानीको रणनीति प्रस्तुत
क्यापस्टोन एक्सेलेरेटरमा नेपालले हाँडी बिरयानीको व्यवसायिक यात्रा, ब्रान्ड विकास, ग्राहक अनुभव, मानकीकृत उत्पादन तथा सेवा प्रणाली र भविष्यको विस्तार रणनीतिबारे प्रस्तुति दिएका थिए।
विशेषगरी उनले फ्रेन्चाइज मोडल, एआईमा आधारित ग्राहक लक्षित बजार रणनीति, डिजिटल प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने योजनालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका थिए।
कार्यक्रममार्फत उनले लगानीकर्ता, उद्योगी, व्यावसायिक नेतृत्व तथा अन्य उद्यमीसँग संवाद गर्दै व्यवसायलाई थप विस्तारयोग्य र लगानीयोग्य बनाउने विषयमा व्यावहारिक सुझावसमेत प्राप्त गरेका थिए।
‘नेपाली आतिथ्य ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य छ’—नेपाल
क्यापस्टोन एक्सेलेरेटरको अनुभवबारे पोषण नेपालले भने–
‘खाना राम्रो हुनु मात्र पर्याप्त हुँदैन, त्यसलाई बलियो प्रणाली, उत्कृष्ट ग्राहक अनुभव र विस्तारयोग्य व्यवसायिक मोडलसँग जोड्न पनि उत्तिकै आवश्यक हुन्छ। उद्यमशीलता सीप विकास कार्यक्रम र क्यापस्टोन एक्सेलेरेटरले हाँडी बिरयानीलाई फ्रेन्चाइज मोडलमा कसरी विस्तार गर्ने, प्रविधि र एआईलाई ग्राहक पहुँचमा कसरी प्रयोग गर्ने तथा नयाँ बजारका लागि कसरी तयारी गर्ने भन्ने विषयमा धेरै उपयोगी दृष्टिकोण दिएको छ। अब हाम्रो लक्ष्य हाँडी बिरयानीलाई नेपालभर विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु हो।’


के हो कार्यक्रम ?
तीनदिने क्यापस्टोनमा निर्यात, कृत्रिम बुद्धिमत्ता र लगानी तयारीमा जोड
देशभरबाट प्रतिस्पर्धात्मक छनोटमार्फत उत्कृष्ट २० मा परेका उद्यमीहरूले काठमाडौंमा आयोजित तीनदिने आवासीय कार्यक्रममा व्यवसाय विस्तार, लगानी तयारी, अन्तर्राष्ट्रिय बजारमा पहुँच, कृत्रिम बुद्धिमत्ताको प्रयोग, बजार व्यवस्थापन तथा रणनीतिक सञ्चारलगायत विषयमा केन्द्रित प्रशिक्षण प्राप्त गरेका थिए।
क्यापस्टोन एक्सेलेरेटर मुख्यतः निर्यात तयारी, कृत्रिम बुद्धिमत्ता तयारी र लगानी तयारी गरी तीन प्रमुख व्यावसायिक तयारीका क्षेत्रमा केन्द्रित थियो।
अन्तरक्रियात्मक विशेष कक्षा, मार्गदर्शन, सहकर्मीबीच सिकाइ तथा व्यवसाय प्रस्तुति तयारीमार्फत सहभागीहरूले आफ्ना व्यावसायिक रणनीतिलाई थप परिष्कृत गरेका थिए।
यसअघि क्षेत्रीय कार्यक्रमपछि कानुनी अनुपालन, निर्यात तयारी, कृत्रिम बुद्धिमत्तामा आधारित व्यवसाय विस्तार तथा डिजिटल बजार व्यवस्थापनसम्बन्धी भर्चुअल विशेष कक्षासमेत सञ्चालन गरिएको थियो।


लगानीकर्ता र उद्योगीसमक्ष हाँडी बिरयानीको प्रस्तुति


कार्यक्रमको अन्तिम दिन आयोजना गरिएको ‘लगानी तथा विश्व बजार केन्द्रित व्यवसाय प्रस्तुति सत्र’ मा पोषण नेपालसहित देशभरका उत्कृष्ट २० उद्यमीले आफ्ना व्यवसाय नेपालका प्रमुख लगानीकर्ता, उद्योगी, उद्यमशीलता क्षेत्रका साझेदार तथा विज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गरेका थिए।
नेपालले हाँडी बिरयानीको ब्रान्ड, ग्राहक अनुभव, डिजिटल बजार रणनीति, फ्रेन्चाइज विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने भावी योजनाबारे प्रस्तुति दिएका थिए।
सहभागीहरूले आफ्ना व्यवसायलाई थप प्रतिस्पर्धी, लगानीयोग्य, प्रविधिमैत्री तथा विस्तारयोग्य बनाउन विज्ञहरूबाट व्यावहारिक सुझावसमेत प्राप्त गरेका थिए।


‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मा हाँडी बिरयानी


सहभागी उद्यमीहरूले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मार्फत आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्ने अवसरसमेत प्राप्त गरेका थिए।
हाँडी बिरयानीले पनि आफ्नो ब्रान्ड, सेवा अवधारणा तथा विस्तार योजनालाई व्यवसायिक नेतृत्व, लगानीकर्ता र अन्य उद्यमीसँग प्रस्तुत गर्दै नयाँ साझेदारी तथा बजार अवसरबारे संवाद गर्ने अवसर प्राप्त गरेको थियो।
अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीले सहभागी उद्यमीहरूलाई लगानीकर्ता, उद्योगी, नेपालस्थित अमेरिकी वाणिज्य संघ ९एमच्याम नेपाल० तथा अन्य नेपाली र अमेरिकी व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद र सञ्जाल विस्तार गर्ने अवसर प्रदान गरेको थियो।
अमेरिका–नेपाल व्यावसायिक सम्बन्ध विस्तारमा जोड
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चीफ माइक हार्करले भनेस्
“आजको क्यापस्टोन शोकेस एउटा कार्यक्रमको समापन मात्र होइन, अमेरिका र नेपालबीचको बलियो आर्थिक साझेदारीको महत्वपूर्ण उदाहरण पनि हो। नवीन सोच भएका नेपाली उद्यमीहरूमा लगानी गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर हामी आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाइरहेका छौं। नेपालको आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने नयाँ पुस्ताका उद्यमीहरूलाई सहयोग गर्न पाउँदा हामी गर्व गर्छौं।”


देशभरका उत्कृष्ट २० उद्यमीको सहभागिता


क्यापस्टोन एक्सेलेरेटर अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खला अन्तर्गत सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम तथा उन्नत चरण हो।
नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालित क्षेत्रीय कार्यक्रममार्फत २०० भन्दा बढी उद्यमीलाई प्रशिक्षण प्रदान गरिएको थियो। तीमध्ये अत्यन्त प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उत्कृष्ट २० उद्यमीलाई काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट गरिएको थियो।
छनोट भएका उद्यमीहरू कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, व्यक्तिगत हेरचाह, सहकारी, आतिथ्य तथा सामाजिक उद्यमलगायत विविध क्षेत्रमा सक्रिय छन्।


कार्यक्रमबारे


उद्यमशीलता सीप विकास कार्यक्रम अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खला अन्तर्गत अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित कार्यक्रम हो।
यसलाई इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) र आद्यन्त एडभाइजरीले सह–नेतृत्व गरेका छन् भने नेपालस्थित अमेरिकी वाणिज्य संघ (एमच्याम नेपाल) र द ग्लोबल इम्प्याक्ट कलेक्टिभसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमले नेपालका सातै प्रदेशका उद्यमीलाई व्यावहारिक व्यावसायिक प्रशिक्षण, मार्गदर्शन, डिजिटल बजार व्यवस्थापन, वित्तीय साक्षरता, कानुनी तयारी, कृत्रिम बुद्धिमत्तामा आधारित व्यावसायिक वृद्धि, निर्यात तथा लगानी तयारीसम्बन्धी ज्ञान र सञ्जाल उपलब्ध गराएको छ।
क्षेत्रीय कार्यक्रमहरूमा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उत्कृष्ट २० लाई काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा सहभागी गराइएको थियो।
कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले आफ्ना व्यवसाय तथा भावी विस्तार योजनाहरू लगानीकर्ता, उद्योगी तथा उद्यमशीलता क्षेत्रका विज्ञहरूसमक्ष प्रस्तुत गरेका थिए।