सुनकाेशीमा बेपत्ता दम्पतीकाे आज दाहसंस्कार गरिदै, केदारनाथकाे कुशकाे शव बनाइने

काठमाडौं । गत बुधबार साँझ सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको आज दाहसंस्कार गरिदैछ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीको आज दाहसंस्कार गरिने भएकाे हो।

केदारनाथको शव फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गर्न लागिएको मण्डनदेउपुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए।

तिलकुमारीको शव भने आइतबार ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको थियो। आफन्तले शवको सनाखत गरेपछि परिवारका सदस्यहरू ओखलढुंगा पुगेर शव काभ्रे ल्याएका थिए।

केदारनाथको शव भेटिने सम्भावना नरहेपछि दुवै जनाको एउटै चितामा दाहसंस्कार गर्न लागिएको वडाध्यक्ष पौडेलले बताए। हिन्दू परम्पराअनुसार उनीहरूको दाहसंस्कार मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावतीमा भइरहेको छ।

पराजुली दम्पती गत बुधबार काभ्रेकै भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका थिए। केदारनाथले श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीतर्फ गएको बताइएको थियो।

घटनापछि उनीहरूको खोजीका क्रममा तिलकुमारीको शव ओखलढुंगास्थित सुनकोशी नदी किनारमा फेला परेको थियो भने केदारनाथको अवस्था अझै अज्ञात रहेको छ।