सुनकाेशी किनारमा भेटियाे तिलकुमारीकाे शव, श्रीमान अझै बेपत्ता

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये वृद्धाको शव फेला परेको छ । मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित हर्कपुरकाे सुनकोशी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशी नदीमा फेला परेको शवको हुलिया काभ्रेमा आफन्तलाई पठाइएको थियो। आफन्तले शव पहिचान गरेको उनले बताए ।

‘हामीले बेपत्ता भएका आफन्तलाई शवको फोटो पठाउँदा उहाँहरूले पुष्टि गर्नुभएको छ,’ प्रहरी निरीक्षक राईले  भने । थप पुष्ट्याईंका लागि तीलकुमारीका आफन्तहरु ओखलढुंगा गइसकेका छन् ।

तिलकुमारीलाई पिठ्यूँमा बोकेर दोलालघाटबाट नदीमा हेलिएका उनका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ । पराजुली दम्पती बुधबार साँझ दोलालघाटबाट बेपत्ता भएका थिए । उनीहरूको खोजीमा प्रहरी टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय ओखलढु‌ंगाले पनि शव भेटिएकाे  जनाउँदै डीएसपी राज मर्हजनले भने, ‘हामीले शवकाे फाेटाे काभ्रेलाई पठाएका थियाै‌ँ काभ्रेबाट बेपत्ता वृद्धाकाे भनेर सनाखत गर्नुभयाे । उहाँहरू आउनुभएपछि मात्रै आधिकारिक पुष्टि हुन्छ ।’ उनका अनुसार स्थानीयले शव नदी किनारमा भेटेर प्रहरीलाई खबर गरेका थिए ।