हराएका मेयर मृत फेला

रूपन्देही । शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वी मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।

उनको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन तथा ड्रोनबाट समेत निगरानी गरेको थियो।

ठूलो संख्यामा स्थानीयको समेत सहभागिता रहेको थियो। शुक्रबार मोटरसाइकलसहित गएका उनी वेपत्ता भएपनि सोही ठाउँमा उनको मोटरसाइकल भेटिएको थियो ।

तौलिहवा गोरुसिंगे क्षेत्रको जंगलमा हराएका उनको खोजीमा सबै विधि अपनाएको र आज मृत अवस्थामा भेटिएको कपिलवस्तु प्रहरीका निमित्त सूचना अधिकारी दिपक कुँवरले बताएका छन् ।

शनिबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको केनाइन शाखाबाट हाम्रो ट्र्याकिङ डग सहितको प्राविधिक टोली ल्याएर सर्च गरिएको थियो ।

प्रहरीका अनुसार ६५ वर्षीय सिंह अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । साढे तीन बजेतिर उनले आफू निकटका केही व्यक्तिहरुलाई ‘जंगलमा बाटो बिर्सिएँ’ भनेर मोबाइलमार्फत् जानकारी दिएका थिए ।

त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु। प्र। ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । दुई दिनदेखि खोजिरहेको जंगलमा आज मृत अवस्थामा फेला परेका हुन् ।