काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा आउन तयार रहेको बताएका छन्। आज दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार गठन भएको ४ महिना मात्रै भएकाले विकल्पमा आफूहरूले नसोचेको बताए।
उनले भने, ‘सरकारले काम गर्न सुरु गरेको चार महिनामा विकल्प खोज्नुपर्छ भन्ने ठाउँमा त पुगिसकेका छैनौँ। तर स्वेच्छाचारी ढङ्गले चलेका गतिविधिलाई रोक्नको लागि जनता फेरि सडकमा आउनुपर्ने स्थिति हुन सक्छ। हाम्रो पार्टी मुलुकको रक्षा, जनताका हितका लागि कार्यकर्ताहरूलाई जुनसुकै बेला सडकमा आउनुपर्ने हुन सक्छ, तयार भएर बस्नुस् भनेको छ।’
प्रतिपक्षमा रहेका लोकतान्त्रिक पार्टीहरू मिलेर सरकारलाई गलत दिशामा जानबाट रोक्नुपर्ने बताए।उनले थपे, ‘राजनीतिक दलहरूले आफूलाई जनताको विश्वास जित्नका लागि सुधार गर्ने जरुरी छ। हाम्रो पार्टीलाई पनि सुधार गर्दै जान्छौँ। मुलुकको संविधान र लोकतन्त्रको रक्षा, जनाधिकारका प्रश्नमा हाम्रो पार्टी प्रतिबद्ध छ।’
भदौ २४ गतेको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकाले सुनसरी घटनामा पनि अहिलेका प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्ने बताए।
उनले भने, ‘२४ गतेको घटनासँग जोडेर सुरक्षा निकायले बल प्रयोग गरेको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भनियो। सुरक्षा निकायले गरेको बल प्रयोगको जिम्मा राजनीतिक नेतृत्वको हुन्छ भनेर तत्कालिक प्रधानमन्त्री र गृहमन्त्रीमाथि अभियोग लगाइयो। यो सरकारले आफ्नो समयमा भएको बल प्रयोगबाट भएका क्षतिका सन्दर्भमा उन्मुक्ति पाउन सक्दैन। या प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा जे गर्यौँ, नबुझीकन गर्यौँ भनेर माफी माग्नुपर्यो। त्यसो नभए राजीनामा दिएर मुद्दा चलाउनका लागि बाटो खोलिदिनुपर्यो। दोहोरो मापदण्ड शासनमा हुँदैन।’
उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणका नाममा गिरफ्तार गरिएको प्रसङ्ग पनि उठाए।
उनले थपे, ‘सम्पत्ति शुद्धीकरण आधार बनाएर गिरफ्तार गर्ने कुरा सामान्यतया उचित होइन। कालो धनको पो शुद्धीकरणको विषय हो, तर नेपालमा कर प्रणालीमा रहेका झन्झटका कारण मान्छेले आफ्नो आयको वैधता पुष्टि गर्न नसकेको चीजलाई नै कालो धन मान्न थालियो भने नेपालमा व्यापार–व्यवसाय गर्ने सबै मान्छेहरू कालो धनका शिकार हुन्छन्।’










प्रतिक्रिया