काठमाडौं । केपी ओली निवास गुण्डुमा मध्यरात बिरामी परेर बेहोस भएका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना भएका छन् ।
थपलियाका छोरा सुरज थपलियाका अनुसार हिजो भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनलाई आज वीर अस्पतालमा उपचारको लागि लगिएको हो ।
छोरा थपलियाले बुबामा उच्च रक्तचाप र सुगरको लेभल पनि बढेको कारण वीर अस्पतालमा उपचारको लागि लगिएको बताए । उनी अहिले डाक्टरको निगरानीमा अस्पतालमै रहेको उनले बताए ।
तर, नेकपा एमालेका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले भने संसदीय दलका नेता थपलिया बोल्ने क्रममा भावुक भएर गला अवरुद्ध भएको दाबी गरेका छन् ।
उनले फेसबुक स्टाटसमार्फत बागमती प्रदेश सरकारमा बहुमतको सरकार बनाउन छलफलमा आफ्नो भनाइ राख्ने समय भावुक भएर गला अवरुद्ध भएको समाचार मिडियाले भ्रामक रुपमा बनाएको दाबी गरेका हुन् ।
तर, सोही छलफलमा भएका बागमती प्रदेशका सांसदले भने ओली लगायतका नेताहरुले हप्काएपछि आफ्नो पनि भनाइ राखेर बाहिर निस्किने क्रममा थपलिया बेहोस नै भएका हुन् ।
उनलाई ओलीको सचिवालयकी निरु पाल र बागमती प्रदेशको यसअघिका सांसद दावा दोर्जे लामाले पानी छर्किएर उठाएका हुन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
बागमती प्रदेशका सांसद केशव पोखरेलको गाडीमा उनलाई अस्पताल लैजाँदा प्रेसर र सुगर दुबै बढेको अवस्थामा रहेको अस्पतालले जनाएको थियो ।









प्रतिक्रिया