देवानगञ्जमा गाेली लागि घाइते दुई जनालाईं काठमाडौं ल्याइदै

विराटनगर । सुनसरीको देवानगन्ज गोली लागि गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

विराटनगरमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादव र २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गर्ने गरी काठमाडौं लैजान लागिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी नोबेल शिक्षण अस्पतालमा उपचाररत छन । उनको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । यस्तै, विराट नर्सिङ होममा उपचाररत रबिन्द्र मेहतालाई पनि काठमान्डौ लैजाने तयारी भएको छ । उनी पनि भेन्टिलेटरमै उपचाररत छन् ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई पनि काठमाडौं लैजान लागिएको परिवारले जनाएको छ । उनीहरूलाई काठमाडौं लैजान स्वास्थ्यमन्त्री निशा मेहताले आवश्यक पहल गरेको बताइएको छ ।

गत आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा १० जना युवा घाइते भएका थिए ।

घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

बाँकी आठ घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो ।