काठमाडौँ । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ ।
सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि यो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले यो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ । खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ ।
त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अवरुद्ध सडक सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेका प्रहरीले जनाएका छन् ।









प्रतिक्रिया