रोल्पा । सामाजिक सञ्जालमा भाइरल भएका रोल्पाका तीन बालिकाले उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्।
झरी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र अर्की मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले निःशुल्क पढाउने प्रतिबद्धता जनाएका हाे ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ टोलबाङ निवासी उनीहरू सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर सेन्टरको नर्सरी, एलकेजी र कक्षा १ मा अध्ययनरत छन्। ३ वर्षकी सियाँ तथा ५ र ६ वर्षका दुई मनजीतामध्ये दुई जना एकै घरका हुन् भने एक जना छिमेकी हुन्। उनीहरू तीनै जनाका बुवा रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा छन्।
उनीहरूलाई हाल पढाइरहेकै विद्यालयले कक्षा ६ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको छ भने कक्षा ७ देखि उच्च शिक्षा (स्नातक तह) सम्मको खर्च रुन्टीगढी गाउँपालिकाले ब्यहोर्ने प्रतिबद्धता जनाएको छ।
समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो छायांकन गर्ने लोकेन पुनलगायतको टोली बालिकाहरूको घरमै पुगेको थियो। टोलीले बालिकाहरूका आमासँग भेट गरी उच्च शिक्षासम्म निःशुल्क पढाउने सहमति पत्रमा हस्ताक्षर/सहमति गरेको हो।
सहमति अनुसार एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले कक्षा ६ सम्मको सम्पूर्ण शिक्षा निःशुल्क उपलब्ध गराउनेछ। विद्यालयका प्रिन्सिपल तेजबहादुर पुनले भने, “हामीले यी तीनै बालबालिकालाई कक्षा ६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छौँ।”
त्यस्तै, कक्षा ७ देखि उच्च शिक्षासम्मको अध्ययनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए। “उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र सम्पूर्ण जिम्मेवारी गाउँपालिकाको हुनेछ, यो मेरो व्यक्तिगत र संस्थागत प्रतिबद्धता हो,” अध्यक्ष पुनले भने।
पानी परिरहेको समयमा गुलाफी, हरियो र पहेँलो रेनकोट ओढेर आफ्नै सुरमा उकालो बाटो हिँडिरहेका तीन बालिकाको दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।









प्रतिक्रिया