काठमाडौंमा सत्ता र सरकारको कार्यनैतिक काममा अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले खेल्ने मौका पाए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) ले आफूहरु काठमाडौंमा सत्ता र सरकारको कार्यनैतिक काममा अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले खेल्ने मौका पाएको बताएका छन् ।पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टले परम्परागत शैलीमा वैचारिक स्कुलिङमा नलाग्दा अहिलेको क्षति बेहोर्नुपरेको बताएका हुन् ।


‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन्,’ प्रचण्डले भने, ‘नेपालमा यी कम्युनिस्ट बढी भएका छन् । यीनलाई ठिक पार्नुपर्छ भनेर २० बर्से योजना बनाएछन् ।’

वैरीहरू लागेको कुरा अलिअलि थाहा पाइएपनि यही स्तरमा एकैदिनमा नेपाललाई विध्वंश पार्नेगरी लागेको नलागेको उनले बताए ।

‘यो स्तरमा आउँदैनन् होला भन्ने भ्रम पालिएछ, हामीले,’ प्रचण्डले भने ।‘हामी रणनीतिलाई भुल्यौं, छाड्यौं या अवमूल्यन गर्‍यौं, विचारको, निरन्तर स्कुलिङको आवश्यकतालाई । सरकारको प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका, प्रदेशमा निर्वाचित हुने यो कुरालाई रणनीति जस्तो गरियो । यही नै सबैचिज हो भनेजस्तो गरियो । मेरो विचारमा कम्युनिस्टको गल्ती त्यहीनेर भयो,’ उनले भने ।


अब ती गल्तीलाई सुधार्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको समेत बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, समुदायका हक–अधिकारको रक्षा, संविधानको रक्षा, गणतन्त्रको रक्षाको निम्ति सबैको साझा पहलकदमी गर्नुपर्छ। भर्खरै पार्टी एउटै हुने स्थिति छैन, त्यता टाउको नदुखाऊँ। अहिले पार्टी एउटै बनाउँछौँ भने फेरि झगडा सुरु भइहाल्छ।’


पार्टी एकता पहिलाको समीक्षा नगरी नहुने बताए। ‘सहकार्य र कार्यगत एकता तत्काल सम्भव र आवश्यक छ अहिले नै, आजै, भोलि। त्यसमा ढिलो गर्नुपर्ने कुनै कारण छैन। त्यसमा हामीले इमानदारीका साथ आन्दोलित भयौँ भने पार्टी एउटै बनाउने पनि त्यहीँबाट बन्न सक्छ।’


उनले प्रदेश सरकारमा जाने आफूहरूको कुनै चाहना नभएको समेत बताए। कांग्रेस र एमालेले बाँकी कार्यकाल चलाओस् भन्ने पक्षमा आफू रहेको तर दुई पार्टीबीच कुरा नमिले गाँठो फुकाउन आफूहरू तयार रहेको बताए।