ढल्केबरको उद्योगमा आगलागी हुँदा तीन जना गम्भीर घाइते

काठमाडौं । धनुषाको मिथिला नगरपालिका –०६ ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो ।

आगलागीमा परेर बारा प्रसौनी गा.पा. वडा नं.४ खुट्वा प्रसौनी बस्ने २३ वर्षीय सोमराती अंसारी, २२ वर्षीय अब्दुल अंसारी र २५ को धर्मराज महत्तोको शरीरको विभिन्न भाग जलेको छ । उनीहरुको अवस्था गम्भीर छ ।

आगलागी हुँदा तीन जना कामदारको शरीरका विभिन्न भाग जलेको छ भने घाइते तीनै जनाको प्रादेशिक अस्पताल, जनकपुरमा उपचार भईरहेकोमा थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर पठाइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगो भने नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।