काठमाडौं । नेपाली कांग्रेसका भुतपूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति सुरु गरेको र संवैधानिक निकायहरूलाई आतंकित बनाउन खोजेको गम्भीर आरोप लगाएका छन् ।
केही महिनादेखि स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले चाँडै स्वदेश फर्किने घोषणा गर्दै यस्ताे आराेप लगाएका हुन् ।
जननायक बिपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर एक विशेष विज्ञप्ति जारी गर्दै उनले सो घोषणा गरेका हुन् । विज्ञप्तिमा देउवाले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमाथि दबाब सिर्जना गर्न थालेको उल्लेख गरेका छन् ।
‘न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो प्रवृत्तिले लोकतन्त्र, संविधान र राष्ट्रियता नै जोखिममा पर्ने उनको तर्क छ ।
देउवाले मुलुकमा अहिले प्रतिशोध र निषेधको राजनीति हाबी हुन थालेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता औँल्याएका छन् ।
बिपी कोइरालाको २०३३ सालको ‘राष्ट्रिय मेलमिलापु नीतिको स्मरण गर्दै उनले भनेका छन्, ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ । प्रतिशोध होइन, सहकार्य चाहिएको छ ।’
आफ्नो ६ दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै देउवाले नेपाली कांग्रेसले जस्तोसुकै कठिन घडीमा पनि देशलाई निकास दिएको दाबी गरेका छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधान निर्माण गर्ने र भूकम्प तथा कोभिड–१९ जस्ता महामारीको सामना गर्ने काममा कांग्रेसले जिम्मेवार भूमिका निभाएको उल्लेख गर्दै उनले वर्तमान चुनौतीको सामना गर्न पनि कांग्रेस तयार रहेको बताएका छन् ।
गत फागुनमा सम्पन्न निर्वाचनमा जनताले विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई आफूले सम्मान गर्ने देउवाले बताएका छन् । यद्पि चुनाव हिंसा र त्राशको वातावरणमा सम्पन्न भएको उनको दावी छ ।
उपचारका क्रममा विदेशमा रहे पनि आफ्नो मन र चिन्ता सधैँ देश र जनताप्रति केन्द्रित रहेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना र राष्ट्रप्रेममाथि पूर्ण आस्था राख्छु ।,










प्रतिक्रिया