इरानी गायिकालाई ७४ काेर्रा हान्न अदालतकाे आदेश

काठमाडौं। इरानी गायिका परस्तू अहमदीसहित ‘कारवानसराय कन्सर्ट’सँग सम्बन्धित अन्य आठ जनालाई इरानको एक अदालतले ७४ कोर्राको सजाय सुनाएको छ ।

साथै उनीहरूलाई दुई वर्षसम्म विदेश यात्रा गर्न र कला तथा सांस्कृतिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको छ।

यो फैसला कोम प्रान्तको अदालतले सुनाएको हो। अदालतले इस्लामिक कानुनका विभिन्न धाराहरू उद्धृत गर्दै सबै नौ जनालाई समान सजाय सुनाएको जनाएको छ। साथै उक्त फैसला देशका सञ्चारमाध्यममा सार्वजनिक गर्न पनि आदेश दिएको छ।

अदालतका अनुसार उनीहरु “इन्टरनेटमार्फत अनुचित तथा अश्लील सामग्री प्रसारण गरेर सार्वजनिक नैतिकता र शालीनतालाई क्षति पुर्‍याएको” आरोपमा दोषी ठहर भएका हुन्।

‘कारवानसराय कन्सर्ट’को भिडियो सन् २०२४ को डिसेम्बरमा परस्तू अहमदीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भएको थियो।

उक्त भिडियोमा परस्तू अहमदीले हिजाब नलगाई गीत गाएकी थिइन्, जुन इरानका कडा सामाजिक तथा धार्मिक नियमहरूको सन्दर्भमा विवादको विषय बनेको थियो।

भिडियो सार्वजनिक भएको केही घण्टामै युट्युबमा एक लाखभन्दा बढी पटक हेरिएको थियो।

त्यसपछि सामाजिक सञ्जालका विभिन्न माध्यममा व्यापक रूपमा सेयर गरिएको उक्त भिडियो हालसम्म करिब ३० लाख पटक हेरिएको छ। यसको विभिन्न अंशहरू पनि इन्टरनेटमा भाइरल बनेका छन्।