काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, अन्त के हाेला माैसम ?

काठमाडौँ । आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेश प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।