रास्वपा कार्यकर्तामाथि पाेनीकाे फाेहाेरा र अश्रुग्यास प्रहार

काठमाडाै । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका रास्वपाका नेता–कार्यकर्ताहरूमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेकाे छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता–कार्यकर्तालाई हटाउन खोज्दा अहिले पाेखरा तनावग्रस्त अवस्थामा रहेकाे छ। पार्टीका सभापति रवि लामिछानेलाई ‘राजनीतिक प्रतिशोध’ मा समातिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् ।

निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।