ट्रम्पको धम्कीपछि होर्मुजको जलडमरू पूर्ण रूपमा बन्द गर्ने इरानको चेतावनी

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)ले अमेरिकाले इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुजको जलडमरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४८ घण्टाभित्र होर्मुजको जलडमरूम नखोले सबै पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी दिएपछि आइआरजिसीले होर्मुज जलडमरू बन्द नभएको र अमेरिका र इजरायलको मनोवृत्तिका कारण जहाजहरू यस बाटोबाट जान हिच्किचाउने गरेको प्रतिक्रिया दिएको हो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीलाई उदृत गर्दै इरानका मिडियाले भनेका छन्, ‘यदि इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण भयो भने, हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म होर्मुजको जलडमरूम खोलिने छैन ।’

होर्मुज जलडमरू इरानसँग जोडिएको छ र यो फारसी खाडीलाई ओमानको खाडी र अरब सागर (दक्षिणपूर्व) सँग जोड्ने एक मात्र समुद्री मार्ग हो । विश्वको २० प्रतिशत तेल र आपूर्ति यहीबाट भइरहेको छ ।

अमेरिका र इजरायली आक्रमणपछि, इरानले यो मार्ग लगभग बन्द गरिसकेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । मार्च २१ मा ट्रम्पले इरानलाई हर्मुजको जलडमरूम खोल्न नयाँ समयसीमा दिएका थिए ।

उनले इरानसँग हर्मुजको जलडमरूम पूर्ण रूपमा खोल्न ४८ घण्टा रहेको बताएका थिए । यदि इरानले त्यसो गर्न असफल भए अमेरिकाले पावर प्लान्टहरूमा आक्रमण गर्ने र ध्वस्त पार्ने बताएका थिए । ट्रम्पको चेतावनी पछि आइआरजिसीले अमेरिकी हिस्सेदारी भएका सबै कम्पनीलाई लक्षित कारबाहीको चेतावनी समेत दिएको छ ।