काठमाडौं ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ।
सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार राति कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।









प्रतिक्रिया