सरकार परिवर्तनकाे कुरा निराधार हाे: प्रधानमन्त्री ओली

काठमाडौ। सरकार परिवर्तन हुन लाग्याे भनेर विभिन्नखाले प्रचारबाजी हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाकाे पछि नलाग्न आग्रह गरेका छन् । उनले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् ।

हिजाे ६९ औं प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा बाेल्दै प्रधानमन्त्री ओलीले दसैँपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताएका हुन् ।

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिले बनेको दुईतिहाइको सरकार खरानीको डल्लो नभएको बताउदै प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्न ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।

आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी आमनिर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा हुनेसमेत बताए ।

उनले अहिलेको संविधान र प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गरे । यस्तै उनले प्रहरीसम्बन्धी कानून छिट्टै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने बताए ।

समारोहमा नेपाल प्रहरीबाट कवाज, झाँकी तथा डेमोन्स्ट्रेशन र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने प्रस्तुति देखाइएको थियो ।