डाेनाल्ड ट्रम्पकाे घरमा प्रवेश गर्ने व्यक्तिलाई गाेली प्रहार गरियाे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्ने व्यक्तिलाई गोली हानेर मारिएको छ । यो घटना ट्रम्पको फ्लोरिडास्थित घरमा भएको हो । घटना हुँदा ट्रम्प भने वाशिंगटन डीसीमा थिए ।

सुरक्षा घेराभित्र प्रवेश गर्न खोजेपछि एजेन्टहरू र पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारीले ती व्यक्तिलाई रोकेका थिए । सुरक्षा अधिकारीहरुका अनुसार, सुरक्षा टोलीले ती व्यक्तिबाट पेट्रोलको क्यान र बन्दुक फेला बरामद गरेको थियो ।

सुरक्षा अधिकारीले भने, ‘युवकलाई सुरुमा आफ्नो हतियार छोड्न आदेश दिइएको थियो र उनले पेट्रोलको क्यान तल राखे तर बन्दुकलाई फायरिङ पोजिसनमा उठाए । त्यतिबेला एजेन्टहरूले ‘खतरा हटाउन’ गोली चलाए ।’

राष्ट्रपति वरिपरिको सुरक्षा परिधि पहिलेभन्दा अरु बलियो पारिएको छ । सन २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको हत्या प्रयासपछि राष्ट्रपतिको सुरक्षा अरु कडा पारिएको छ ।