काठमाडाै ।गृह मन्त्रालयले अहिलेसम्म विपदमा परेकाहरु १७ हजारभन्दा बढीलाई उद्वार गरेकाे जनाएकाे छ ।
मन्त्रालयले मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार गरिएको बताएको हाे । विपदमा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार हजार १ सय २० जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले बताए ।
उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी कार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा परी मुलुकभर घाइते भएका १ सय ६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध मिलाइएको बताए । ‘घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ।’ प्रवक्ता तिवारीले भने, ‘विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको थियो ।’
गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याबाट २ हजार १ सय ५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६ सय ४० जनाको उद्धार गरिएको छ । त्यसै गरी गृह मन्त्री रमेश लेखकले खोज, उद्दार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेका छन् ।
उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्दार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिएका छन् । त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ ।
त्यस्तै प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ । अवरुद्ध सडक पुनः सुचारु गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ । सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपदमा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ ।कार्यदललाई प्रभावितहरुको तत्काल उद्दार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ ।
प्रतिक्रिया