सिद्धगुफाको प्रवर्धनमा बन्दिपुर

तनहुँ । बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्धनमा गाउँपालिका जुटेको छ। सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो।

पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत पुगिने सिद्धगुफाको प्रचारप्रसार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। तर यसको सोचेअनुसार प्रचारप्रसार हुन नसक्दा पर्यटकको उल्लेख्य आगमन हुन नसकेको उनले बताए। ‘यसको जति मात्रामा प्रचारप्रसार भयो त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ’, उनले भने, ‘यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको आयआर्जन पनि बढ्छ।’

सिद्धगुफाको प्रचारप्रसार राष्ट्रियस्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रवर्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए। थापाले यस ठाउँमा रङरोगन, सिँढी मर्मत, बस्ने आरामस्थल निर्माण गरिने बताउँदै सौन्दर्यकरणको कामलाई जोड दिएको बताए।

सिद्धगुफा विकास समितिले लामो समयदेखि यसको व्यवस्थापन गर्दै आए पनि उक्त समिति सक्रिय नभएकाले गाउँपालिकाले तत्काल अधिवेशन गर्न निर्देशन दिइसकेको छ। उनले भने, ‘अब सिद्धगुफाको व्यवस्थापन गाउँपालिका आफैँले गर्ने सोचिरहेको छ। त्यसो हुँदा यसको एकीकृत विकास गर्न सकिन्छ।’

गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारबाट सिद्धगुफा झर्ने बाटोमा रेलिङ निर्माण, ढुङ्गा छापेर पैदलमार्ग बनाइएको छ। सिद्धगुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत एक करोड तीन लाख ९५ हजार ३०० मा यहाँ सौन्दर्यकरणको काम गरिएको अध्यक्ष थापाले बताए।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले चालु आवमा सिद्धगुफाका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। स्थानीयवासी भीम घलेले सिद्धगुफाको प्रचारप्रसारमा कमी भएको बताए। सिद्धगुफाको प्रचारप्रसार गर्न नसक्नु स्थानीयवासीको पनि कमजोरी भएको उनको भनाइ छ।