काठमाडौं । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेकाे छ।
हिजाे प्रहरीले खाँदबारी नगरपालिका–१ बसपार्क क्षेत्रमा पक्राउ गर्न खोज्दा खाँदबारी–६ का ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले सादा पोसाकमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले उनको तिघ्रामा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
विश्वकर्मा जबर्जस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए । छुटेपछि पनि उनीविरुद्ध ६–७ वटा चोरीसम्बन्धी उजुरी परेपछि प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए । परिस्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षाकर्मीले आत्मरक्षार्थ गोली प्रहार गर्नुपरेको डिएसपी मैनालीले जानकारी दिए।
गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया