काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि हात पारेकाे छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित उपाधि जितेको हो ।
नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए ।
बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे ।
आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।
त्यस्तै, राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषदका अनुसार खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम पाउने भएका हुन् ।
खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएपछि खेलाडीहरूले सो पुरस्कार पाउने भएका हुन् । नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ ।
विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।
प्रतिक्रिया