अब दैनिक २५ किलो सुन आयात गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सुन आयातको दैनिक कोटा र विप्रेषण (रेमिट्यान्स) सम्बन्धी भुक्तानीको सीमामा परिवर्तन गरेको छ । आज जारी एकीकृत परिपत्र संशोधनमार्फत राष्ट्र बैंकले यी नयाँ व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा २० किलोग्रामबाट बढाएर २५ किलोग्राम कायम गरिएको छ ।

त्यस्तै, विप्रेषण सम्बन्धी नियममा पनि परिवर्तन गरिएको छ । अब नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकजस्ता प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म(एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ ।

यसअघि यो सीमा २० लाख रुपैयाँ थियो । यस्तो रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित नियमअनुसार ग्राहक पहिचानसम्बन्धी कागजात अनिवार्य लिनुपर्नेछ । साथै, नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्नेछ ।