मान्छेले बाल्यकालका घटना किन सम्झन सक्दैन ?

एजेन्सी : मान्छे जन्मिएको पहिलो दिन, पहिलो पाइला र पहिलो शब्द हाम्रो जीवनकै महत्त्वपूर्ण क्षण हुन्छ। तर हामी किन तिनलाई सम्झन सक्दैनौँ?

स्नायु वैज्ञानिक र मनोवैज्ञानिकहरू दशकौंदेखि यो प्रश्नको उत्तर खोजिरहेका छन्।  बाल्यकालका घटना सम्झन नसक्नुलाई शिशु स्मृति भ्रंश भनिन्छ। 
यसलाई व्याख्या गर्न धेरै कुरा भन्दै आइएको छ। वर्षोंदेखि फरक फरक सिद्धान्तमार्फत यसका बारेमा भन्ने कोसिस हुँदै आएको छ। 

अमेरिकाको येल विश्वविद्यालयका मनोविज्ञान र स्नायु शल्य चिकित्साका प्राध्यापक निक टर्क–ब्राउन भन्छन्‚ ‘के हामी बाल्यकालमा याद बनाउँछौँ र पछि बिर्सन्छौं, वा हामी ठूलो नभएसम्म कुनै याद नै बनाउँदैनौँ भन्ने प्रश्नमा बहस अड्किएको छ।’

उनका अनुसार पछिल्लो दशकसम्म अनुसन्धानकर्ताहरूले बच्चाहरूले याद अर्थात् सम्झना नै बनाउँदैनन् भन्ने ठान्थे। केही वैज्ञानिकहरू साना बच्चाहरूलाई न त आत्मपहिचानको पूर्ण सुझबुझ हुन्छ न त बोल्ने क्षमता नै भनेर तर्क गर्छन्। 

तथापि हामी चार वर्षको उमेरसम्म याद निर्माण गर्न सक्दैनौं किनभने हिप्पोक्याम्पस अर्थात् सम्झना बनाउने मष्तिष्कको भाग, त्यतिन्जेलसम्म पूर्ण हुँदैन भन्ने पनि तर्क गरिन्छ।

प्रोफेसर टर्क–ब्राउन भन्छन्, ‘बाल्यकालमा हिप्पोक्याम्पसको आकार धेरै छिटो बढ्छ। प्रारम्भिक अनुभव सम्झन नसकिने हुन सक्छ किनभने त्यस समयमा आवश्यक तन्त्रिका सर्किटहरू ठाउँमा हुँदैनन्।’

बच्चाको मष्तिष्कको इमेजिङ

यो वर्षको सुरुमा प्रोफेसर टर्क–ब्राउनले नै गरेका अर्को अध्ययनले फरक नतिजा देखाएको छ। जसमा ४ महिनादेखि २ वर्ष उमेरका २६ बालबालिकाका धेरै तस्विर राखियो र एकै समयमा हिप्पोक्याम्पसको गतिविधि हेर्नका लागि उनीहरूको दिमाग स्क्यान गरिएको थियो।

त्यसपछि ती बालबालिकाको पुरानो र नयाँ तस्बिरसँगै देखाइएको थियो। अनुसन्धानकर्ताले कुन तस्विरलाई सबैभन्दा लामो समयसम्म हेर्छन् भनेर पत्ता लगाउन बालबालिकाको आँखाको चाल अवलोकन गरे।

यदि बच्चाले लामो समयसम्म पुरानो तस्बिर हेर्‍यो भने उसलाई त्यो याद छ भन्ने प्रमाण मानियो। पहिले पनि धेरै अनुसन्धानमा पनि त्यस्तै भेटिएको थियो।

यदि कुनै बच्चाले पहिलोपटक कुनै तस्वीर देख्छ र त्यस समयमा उसको हिप्पोक्याम्पस बढी सक्रिय हुन्छ भने पछि त्यो तस्वीर सम्झने सम्भावना बढ्छ भनेर अनुसन्धानले देखाएको छ। 

यस्तो प्रभाव विशेष गरी १२ महिनाभन्दा माथिका बच्चाहरूमा देखिएको थियो। हिप्पोक्याम्पसले लगभग एक वर्षको उमेरदेखि नै सम्झना रेकर्ड गर्न थाल्छन् भनेर यसबाट स्पष्ट हुन्छ। 

सम्झना कहाँ बिलाउँछन् ?

प्रोफेसर टर्क–ब्राउनका अनुसार उनको टोलीले गरेको अध्ययन शिशुहरूले हिप्पोक्याम्पसमा सम्झना बनाउन सक्छन् कि सक्दैनन् भनेर बुझ्ने दिशामा पहिलो कदम हो। तर यसबारे थप अनुसन्धान आवश्यक छ।

‘यदि हामी साँच्चै सम्झना भण्डारण गरिरहेका छौं भने तिनीहरू कहाँ गए? के तिनीहरू अझै पनि जीवित छन्? र के हामी तिनीहरूलाई फिर्ता पाउन सक्छौं?’‚ उनी भन्छन्।

सन् २०२३ मा मुसामाथि गरिएको एउटा अध्ययनमा सानै उमेरमा भुलभुलैयाबाट बाहिर निस्कन सिकेका मुसाहरूले हुर्किएपछि त्यो सबै बिर्सिएका थिए तर पछि वैज्ञानिकहरूले हिप्पोक्याम्पसको सिकाइसँग सम्बन्धित भाग सक्रिय गरेपछि सम्झना फिर्ता आएको थियो। 

मान्छेका बच्चाहरूमा पनि यस्तो हुनसक्छ र के तिनीहरूको सम्झना कतै दबिएका छन ? भन्ने बारेमा भने वैज्ञानिकहरूले अझै निर्क्योल दिन सकेका छैनन्। 
बेलायतको वेस्ट मिन्स्टर विश्वविद्यालयकी प्राध्यापक क्याथरिन लभडे भन्छिन्‚ ‘साना केटाकेटीमा सम्झना बनाउने क्षमता हुन्छ। उनीहरू नर्सरीबाट फर्केर आउँछन् र त्यहाँ के के भयो भनेर बताउँछन्। तर केही वर्षपछि तिनीहरूले त्यही कुरा फेरि भन्न सक्दैनन्। यसबाट सम्झना बनाइन्छन् तर तिनीहरू लामो समयसम्म टिक्दैनन् भन्ने स्पष्ट हुन्छ।’

ती सम्झनालाई समयसँगै गहिरो रूपमा सजाइराख्न सक्छौं कि सक्दैनौँ ? के तिनीहरू छिट्टै बिलाउँछन् ? जस्ता प्रश्नको जवाफ अझै पनि फेला परेको छैन। 
सम्झना झूटा हुन सक्छन्?

प्राध्यापक लभडेका अनुसार शिशु स्मृति भ्रंश बुझ्न अझ गाह्रो छ किनभने हाम्रो पहिलो सम्झना साँच्चै वास्तविक छन् कि छैनन् भनेर जान्न लगभग असम्भव छ।
उदाहरणका लागि धेरै मानिस आफूलाई बाल्यकालको घटना वा आफ्नो पालनपोषणको क्षण याद छ भनेर ठान्छन्। 

तर त्यस्ता सम्झनाहरू वास्तविक अनुभवसँग सम्बन्धित हुने सम्भावना धेरै कम हुने लभडे बताउँछिन्। 

‘स्मृति सधैं एक प्रकारको पुनर्निर्माण हो। यदि हामीले कुनै घटनाको बारेमा जानकारी पायौं भने हाम्रो मस्तिष्कले पूर्ण रूपमा वास्तविक लाग्ने स्मृति सिर्जना गर्न सक्छ’, उनी भन्छिन् ‘वास्तवमा यो चेतनाको प्रश्न हो र चेतनालाई स्पष्ट रूपमा परिभाषित गर्नु सबैभन्दा कठिन काम हो।’

प्रोफेसर टर्क–ब्राउन शिशु स्मृति भ्रंशको रहस्य हाम्रो पहिचानसँग गहिरो रूपमा जोडिएको बताउँछन्। 

‘यो हाम्रो पहिचानको अंश हो र हाम्रो जीवनको प्रारम्भिक वर्षमा हामीसँग एउटा अन्धो ठाउँ छ जहाँ हामीलाई केही पनि याद छैन भन्ने विचारले मानिसको आफ्नो बारेमा सोच्ने तरिकालाई परिवर्तन गर्छ’‚ उनी भन्छन्।