काठमाडौं ।डिल्लीबजारस्थित कारागार कार्यालयका केही कैदीबन्दी भाग्न खोजेपछि आज बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो । यति बेलासम्म सेनाले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।
प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो । एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्काथरिले त्यसो गर्न हुँदैन भनिरहेका थिए । हिजो मंगलबार बिहानसम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थितपछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्नेलाई सम्हालिरहेका थिए ।
आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । सेनाले हाई अलर्ट पोजिसन लिएपछि भित्र होहल्ला र आगजनी प्रयास गर्ने कैदीबन्दी पछाडि हटे । उनीहरूलाई सेना ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र लिएर गएको छ । तर, त्यो ‘सुरक्षित स्थान’ कहाँ हो ? केही खुलेको छैन ।
भाग्न नहुने पक्षका बन्दी भने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति रहेका छन् । त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका छन् ।
प्रतिक्रिया